
दाङ १०, बैशाख ।
दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ। उनी रोल्पा जिल्लाको गंगादेव गाउँपालिका–१ ओत घर भई हाल कासीपुरमा बस्दै आएकी थिइन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार, गत चैत २४ गते राति सरिता बिकले नवजात छोरीको हत्या गरी शवलाई प्लास्टिकको बोरामा बेरेर करिब १०० मिटर टाढा रहेको कच्ची ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा फालेकी थिइन्। घटनाको जानकारी प्रहरीलाई वैशाख ७ गते मात्र प्राप्त भएको थियो।
जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर शिशुको शव फेला पारेको र त्यसपछि सरिता बिकलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार घटनाको अनुसन्धान ज्यान सम्बन्धी कसुर अन्तर्गत अगाडि बढाइएको छ। दाङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर आरोपीमाथि थप अनुसन्धान भइरहेको छ।