दाङ, १७ असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ जसपुर हरीपौरीमा भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ ।
मंगलबार साँझ करिब ७ः३० बजे सडकमा अचेत अवस्थामा भेटिएका ६५/७० वर्षका सन्तु चौधरीलाई टाउकोमा गम्भीर चोट लागेर तत्कालै राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिएको थियो । उपचारका क्रममा राति ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
घटनास्थल अवलोकनका क्रममा चौधरीलाई सवारी साधनले ठक्कर दिएको आशंका गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।
यसैक्रममा प्रहरी चौकी जसपुरबाट प्र.ना.नि. यकबहादुर खड्काको कमाण्डमा तीन जनाको टोली खटिएको थियाे । चौधरीको शव सोही अस्पतालमै राखिएको छ ।









