
दाङ, ७ चैत ।
आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु भएको छ । दाङमा यो वर्ष ४७ वटा परीक्षा केन्द्रबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीले एसइईमा सहभागी भएका छन् ।
एसइईका लागि घोराही र तुलसीपुर उपमहानगरपालिकामा १४/१४ वटा, लमही नगरपालिकामा पाँच वटा, राप्ती गाउँपालिकामा तीन वटा, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा २/२ र बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकामा १/१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
जिल्लामा एक सय १२ सामुदायिक र एक सय ४१ संस्थागत विद्यालय गरी दुई सय ५३ वटा विद्यालयबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीले एसइई दिन लागेका छन् । जसमा प्राविधिक धारतर्फ ११ र एउटा खुल्ला विद्यालय रहेको कार्यालयले जनाएको छ ।
जिल्लामा यो वर्ष एसइई दिनेमा छात्रभन्दा सात सय २२ जना बढी छात्रा छन् । शिक्षा विकास तथा समन्वय इकाइ दाङका अनुसार छ हजार सात सय ६६ छात्र र सात हजार चार सय ८८ जना छात्राले एसइइ दिन थालेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत तिलकराम बञ्जाडेका अनुसार गत वर्ष जिल्लामा १२ हजार आठ सय ९८ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए ।