
दाङ १० चैत। काठमाण्डौमा जेठ १७-१९ गते हुने वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै लुम्बिनी प्रदेश कमिटीको पूर्ण बैठक देउखुरीमा सम्पन्न भएको छ। बैठकमा पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल ‘बलदेव’ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुँदा संगठन इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ विशेष उपस्थितिमा रहेका थिए।
बैठकले संगठन सुदृढीकरणका लागि सदस्यता नवीकरण, इकाई गठन, वडा, पालिका, जिल्ला हुँदै प्रदेशसम्मका सम्मेलनहरू गर्ने ठोस कार्ययोजना तय गरेको छ।
संगठन इन्चार्ज सापकोटाले राजावादी तत्वहरूले टाउको उठाउन खोजेमा वाईसीएलले सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्। त्यस्तै, संगठनका अध्यक्ष सुबोध राज सेर्पालिले कार्ययोजना कडाइका साथ लागू गर्न निर्देशन दिएका छन्। बैठकमा पार्टी नेता खनालले युवाहरुलाई प्रशिक्षित गर्दै संगठनलाई थप गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेको प्रचारप्रसार विभाग प्रमुख नवराज ऐरले जानकारी दिनुभयो।
उक्त बैठक उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि युवा आन्दोलन ! सुशासन, समृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन भन्ने मूल नारालाई आत्मसात गर्दै सम्पन्न भएको हो।