
अर्घाखाँची १४, चैत ।
अर्घाखाँचीको शितगंगा नगरपालिका–२, भुवनपाटामा भएको बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।
लु २ ख ३०३ नम्बरको बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणमा आएको थियो। फर्कने क्रममा भुवनपाटामा दुर्घटना हुँदा तीन महिला र एक पुरुषको ज्यान गएको हो।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–८ की ५५ वर्षीया जमुना वस्याल, नवलपरासी पश्चिम भुमहीकी ४५ वर्षीया उमा न्यौपाने, उनकी ६५ वर्षीया सासु (नाम नखुलेको), र पश्चिम बर्दघाटका ५० वर्षीय बस चालक मदन कुमार विक रहेका छन्।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।