
काठमाण्डौ, १९ चैत
नेपाल आयल निगमले डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर दुई रुपैयाँले तथा हवाई इन्धनको मूल्य आन्तरिकतर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले घटाइएको छ।
मूल्य समायोजनपछि अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी, र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य लिटरको १४६ रुपैयाँ ५० पैसा कायम भएको छ। त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा १४८ रुपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायलमा १४९ रुपैयाँ तोकिएको छ।
हवाई इन्धनको नयाँ मूल्यअनुसार आन्तरिक उडानका लागि प्रतिलिटर १२५ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलोलिटर मूल्य काठमाण्डौमा ९५२ अमेरिकी डलर, पोखरामा ७८२ अमेरिकी डलर, र भैरहवामा ७६७ अमेरिकी डलर निर्धारण गरिएको छ।
निगमले इन्धनको मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजार मूल्य, भन्सार शुल्क, ढुवानी खर्च तथा अन्य प्रावधानलाई ध्यानमा राखेर निर्णय गर्ने गरेको छ। हालको मूल्य कटौतीले उपभोक्तालाई केही राहत मिल्ने विश्वास निगमले व्यक्त गरेको छ।