
तुलसीपुर, २९ चैत।
दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरीमा एक थ्रेसर अचानक पल्टिँदा एक जना वृद्ध घाइते भएका छन्। घटनामा सोही ठाउँका ६२ वर्षीय बमबहादुर थारु घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
प्रहरी निरीक्षक विनोद खत्रीका अनुसार बारीमा रोकिराखिएको धान काट्ने थ्रेसर अचानक पल्टिँदा बमबहादुर थारु त्यसको चपेटामा परेका थिए। स्थानीय शषीराम खत्रीले केही समयअघि उक्त थ्रेसर बारीमै राखेका थिए।
घाइते थारुलाई तत्कालै राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्जस्थित नर्सिङ होममा रिफर गरिएको छ। घटनाको समय दिउँसो साढे १ बजे बताइएको छ। घाइतेको खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेकाे छ ।