
काठमाण्डाैं २१, वैशाख ।
कक्षा १२ को स्थगित परीक्षा आजबाट सुरु भएको छ। बिहान ८ बजेबाट सुरु हुने परीक्षा ११ बजेसम्म चल्नेछ र जेठ २ गतेसम्म सञ्चालन हुनेछ।
यसअघि वैशाख ११ गते सुरु हुने भनिएको परीक्षा शिक्षक आन्दोलनका कारण रोकिएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार तयारी पूरा भइसकेको छ। बोर्ड अध्यक्ष महाश्रम शर्माले सबै विद्यार्थीलाई निर्धक्क भएर परीक्षा दिन आग्रह गरेका छन्।
देशभर १,५९१ परीक्षा केन्द्र तोकिएको छ, जसमध्ये काठमाडौंमा सबैभन्दा धेरै १६२ छन् भने मनाङ-मुस्ताङमा एक/एक छन्। पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदैछन्। काठमाडौँबाट सबैभन्दा धेरै ६८,१३३ जना र मनाङबाट ४५ जना सहभागी छन्।
परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक, २ हजार कर्मचारी, २० हजार सुरक्षाकर्मी खटाइएको छ। अपाङ्गता भएका, कारागार र बाल सुधारगृहमा रहेका परीक्षार्थीका लागि विशेष व्यवस्था गरिएको छ।
कसैलाई पनि अनुमतिबिना परीक्षा केन्द्रमा प्रवेश निषेध गरिएको छ। परीक्षा मर्यादा उल्लंघन गर्ने शिक्षक, कर्मचारी वा विद्यार्थीलाई कारबाही गरिनेछ। मोबाइल र स्मार्ट डिभाइस लैजान पूर्ण प्रतिबन्ध गरिएको छ।
आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, र उर्दू व्याकरणको परीक्षा हुँदैछ।