
तुलसीपुर, २६ बैशाख।
दाङ जिल्लाको लमही नगरपालिका–९ स्थित अमेलियामा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परेका व्यक्ति बर्दिया जिल्ला, गुलरिया नगरपालिका–२ खैरापुर निवासी अन्दाजी २६–२७ वर्षका रुपेश यादव रहेको इलाका प्रहरी कार्यालय अमेलियाका प्रमुख प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिएका छन्।
प्रहरीका अनुसार, रा १ त २६८३ नम्बरको ट्याक्टर तुलसीपुरबाट बर्दियातर्फ जाँदै गर्दा दिउँसो साढे ३ बजे अमेलिया चोकदेखि ५ किलोमिटर उत्तरतर्फ राप्ती राजमार्गअन्तर्गतको सडकखण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि तत्काल बाँकेको नर्सिङ होम लगिएको छ। उनको टाउकोमा गहिरो चोट लागेको जनाइएको छ।
प्रहरीका अनुसार सो ट्याक्टरमा चालकबाहेक अन्य कोही सवार थिएनन्।