दाङको तुलसीपुरमा अटो र बस ठोकिँदा घाइते भएका पाँचजनाको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। प्रहरीका अनुसार घाइते हुनेमा अटो चालक तुलसीपुर उपमहानगरपालिका- ५ का २९ वर्षीय अंकित गुप्ता, अटोमा सवार सल्यानको कुमाख गाउँपालिका ५ कि २६ वर्षीय रिता बोहरा र उनकी ६ वर्षीय छोरा केशब बोहरा, १८ वर्षीया कमला बुढाथोकी र १६ वर्षीय छबिलाल बुढाथोकी छन्। छबिलालको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक थापाले बताए। उनीहरूलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पताल पठाइएको छ। बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ। शनिबार अपराह्न पौने ४ बजे दाङको तुलसीपुर उपमहानगरपालिका-७ स्थित राप्ति राजमार्गमा रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले ठक्कर दिएको हो।







