
तुलसीपुर, १० पुष । अप्टिमिस्ट क्लब अफ तुलसीपुरले विद्यालय क्षेत्र गतिसिमित बोर्ड स्थापना तथा जेब्रा क्रसिङ निर्माण गरेको छ ।बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि पैदल यात्रु र विद्यार्थीहरूलाई जेब्रा क्रसिङबाट बाटो काट्नुपर्छ भन्ने शिक्षा समेत प्रदान गर्ने उद्देश्यले जेब्रा क्रसिङ निर्माण गरिएको हो।
क्लबले ९ नम्बर वडा कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुर अस्थायी प्रहरी चौकी बेलुवाको समन्वयमा निर्माण गरेको क्लबका अध्यक्ष एकराज भण्डारीले जानकारी दिनुभयो ।
अप्टिमिस्ट क्लब अफ तुलसीपुर वर्ष २०२४ \२५ का अध्यक्ष एकराज भण्डारीको अध्यक्षतामा तथा तुलसीपुर ९ नम्बर वडाका वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा तुलसीपुर ९ नम्बर वडा कार्यालय जाने बाटो बेलुवा अटो भिलेज जाने बाटो र दमार गाउँ जाने बाटोमा विद्यालय क्षेत्र गति सिमित लेखेको बोर्ड स्थापनाका साथै जेब्रा क्रसिङ निर्माण सम्पन्न गरिएको हो ।
निर्माण कार्यक्रममा प्रमुख अतिथि घनश्याम ढकाल, समाजसेवी एवं युवा नेता मुक्ति न्यौपाने , अप्टिमिस्ट इन्टरनेसनल नेपाल डाइरेक्टर एवं निवर्तमान अध्यक्ष कमल सापकोटा, अप्टिमिस्ट इन्टरनेसनल नेपालका लेफ्टिनेन्ट गवर्नर एवं अप्टिमिस्ट क्लब अफ तुलसीपुर संस्थापक अध्यक्ष लगायतले आआफ्नो विचार राख्नुभएको थियो।

उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले क्लबले छोटो समयमै गर्दै आएको कार्यप्रति उच्च मूल्याङ्कन गर्नुभएको थियो भने उक्त कार्य एउटा संकेतात्मक भएको र अब स्थानीय पालिकाले ध्यान पुर्याउनुपर्ने समेत बताउनुभएको थियो।
अप्टिमिस्ट क्लब अफ तुलसीपुरका वरिष्ठ उपाध्यक्ष मेघराज घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव मेघराज पोखरेलले गर्नुभएको थियो।