
तुलसीपुर, फागुन २ ।
रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा समारोहका बीच अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।
रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष बिनिल के सीको सभापतित्वमा तथा रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष किरण पुन को स्वागत मन्तव्यबाट सुरु गरिएको उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका १६ वटा मा वि तहका विद्यालयका विद्यार्थी भाइबहिनीहरूले सहभागिता जनाएका थिए।
हाजिरी जवाफ प्रतियोगिता लाई रोटरी क्लब अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष तुफान बाबु श्रेष्ठले सञ्चालन गर्नुभएको थियो।
हाजिरी जवाफ प्रतियोगितामा श्री अमर इङ्लिस स्कुलको टिम १४० अङ्क ल्याई आजको प्रतियोगिताको विजेता बनी प्रथम विजेताको ट्रफी प्रमाणपत्र तथा नगद रु १० हजार सहित सम्मानित भएको थियो।
त्यसैगरी ११० अङ्क ल्याई ज्ञानज्योति इङ्लिस सेकेन्डरी स्कुलको टिम प्रतियोगिताको उपविजेता बनी प्रमाणपत्र तथा नगद रु ५००० सहित सम्मानित भएको थियो भने तुलसी आवासीय माविको टिम ९० अङ्क ल्याई प्रतियोगिताको तेस्रो विजेता बनेको थियो र प्रमाणपत्र सहित नगद रु २००० प्राप्त गर्न सफल भएको थियो।
कार्यक्रमको सहजीकरण रोट्रयाक्ट क्लब अफ तुलसीपुरका महासचिव सन्दिप भुसालले गर्नुभएको थियो।
