
तुलसीपुर, ९ चैत
दाङ जिल्लामा लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति राजपुर गाउँपालिका–६, गंदीखोलाका २८ वर्षीय दिपक पुन हुन् भन्ने जानकारी जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्र बहादुर शाहले दिएका छन्।
प्रहरीका अनुसार, घोराही–१७ कटुवा खोला नजिकै लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। उक्त टोलीले हिजो दिउँसो करिब १:३० बजे पुनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले पुनको साथबाट २ ग्राम २६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। हाल पक्राउ परेका पुनमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।