
दाङ चैत, १० ।
गीतकार शशी शर्मा मजगैयाँको नयाँ गीत ‘के छ ओइ सान्नानी तिम्रो चालिमाली’ सार्वजनिक गरिएको छ। प्रेमभावले भरिपूर्ण गीतमा समीक्षा अधिकारी र रुद्र शेखर शर्माको स्वर छ । गीतमा मजगैयाँले आफै सङ्गीत भरेका छन् । गोविन्द अनेकले रेकर्ड गरेको गीतको सङ्गीत संयोजन विशाल निरौलाले गरेका छन् ।
समीक्षा पछिल्लो समयकी लोकप्रिय गायिका हुन् भने रुद्र पनि देश विदेशमा रुचाइएका गायक हुन् । गजलकार मजगैयाँको प्रकाशोन्मुख नयाँ एल्बमको लागि यो गजल रेकर्ड गरिएको मजगैयाँले बताए । एल्बमको लागि अरू गीत तथा गजलहरू पनि रेकर्डको तयारीमा रहेको उनले जानकारी दिए ।
क्रान्ति केसीद्वारा निर्देशित गीतको भिडियो छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् । ललितपुरको बज्रबाराहिमा खिचिएको गीतमा अहिलेका चर्चित मोडेलहरू सुधीर श्रेष्ठ र उषा उप्रेतीले अभिनय गरेका छन् । गजलकार मजगैयाँका यस अघि केही गीत गजलका एल्बम तथा किताबहरू प्रकाशित छन् । उनका केही फुटकर आधुनिक तथा फिल्मी गीतहरू चर्चामा रहे ।