
तुलसीपुर , चैत १७ ।
दाङको तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किएर एक महिला गम्भीर घाइते भएकी छिन्। तुलसीपुर–३ रानागाउँ निवासी ६० वर्षीय गोमा वली आज बिहान खाना बनाउँदै गर्दा अचानक आगो सल्किँदा जलेर घाइते भएकी हुन्।
घटनापछि उनलाई तुरुन्तै राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा ल्याइयो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए।
प्रहरीका अनुसार बिहान करिब ८:४५ बजे खाना पकाउने क्रममा उनको कपडामा आगो सल्किएको थियो। आगोले पेट, कम्मर लगायत शरीरका विभिन्न भाग जलेको जनाइएको छ। परिवारका सदस्यहरूले तत्कालै आगो निभाउने प्रयास गरे पनि उनलाई गम्भीर चोट लागेकाले अस्पताल लैजानु परेको थियो।