
तुलसीपुर, १६ बैशाख ।
तुलसीपुर उपमहानगरपालिका ५ मा आज बिहान भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गाडीको ठक्करबाट स्कुटी चालक ४२ वर्षीय शंकर रेग्मी र उहाँकी ४ वर्षीया नातिनी प्रिन्स बुढाथोकी घाइते भएका हुन्।
दुर्घटना बिहान ९ः२० बजे सुकौरा रोडस्थित पानी टंकी नजिकै भएको थियो। तुलसीपुर उपमहानगरपालिकाको रा १ झ १४२ नम्बरको गाडीले प्र.२–००१प–१६७९ नम्बरको स्कुटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
गाडी चलाउने व्यक्ति यान्त्रिक शाखा प्रमुख रेवा रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।