घोराही, १३ असार ।
घोराही उपमहानगरपालिका -१६, सर्रामा अवस्थित राप्ती मोडर्न एकेडेमीले यस वर्षदेखि प्लस टु तहको विज्ञान र व्यवस्थापन संकाय सञ्चालनमा ल्याएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत एकेडेमीले औपचारिक रूपमा कार्यक्रमको घोषणा गरेको हो।
एकेडेमीका प्रवन्ध निर्देशक डा. भीमसेन गिरीले घोराहीको पश्चिमी क्षेत्रका बस्तीहरूलाई लक्षित गरी सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित प्लस टु सुरु गरिएको बताउनुभयाे।
यो वर्ष दुई–दुई सेक्सनमा ४०–४० जना विद्यार्थी भर्ना लिइनेछ भने विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला, पुस्तकालय, ई–लाइब्रेरीसहितका आधुनिक सुविधा, अनुभवी शिक्षक र अतिरिक्त क्रियाकलापहरूलाई प्राथमिकतामा राखिने जनाइएकाे छ।
प्लस टु पछि राप्ती इञ्जिनियरिङ कलेजमा BE Civil, BE Computer, BCA र BBA मा सहुलियतमा भर्ना गराउने योजना पनि प्रस्तुत गरिएको थियाे।
राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल एवं राप्ती मोडर्न एकेडेमीका सञ्चालक रेशम गिरीले घोराही–१६ भित्र यो पहिलोपटक सञ्चालनमा आएको प्लस टु कार्यक्रम भएको बताउनुभयाे । साथै, एसईईमा उत्कृष्ट नतिजा ल्याउने र आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि विशेष छात्रवृत्ति योजना पनि रहेको उहाले बताउनुभयाे ।
पूर्वमा अम्बिकेश्वरी शिक्षा सदनका रूपमा परिचित यस संस्थाले अब नयाँ व्यवस्थापनसहित राप्ती मोडर्न एकेडेमीका रूपमा प्लस टु तहको अध्यापन सुरु गरेको हो।
पत्रकार सम्मेलनको अध्यक्षता डा. भीमसेन गिरीले गर्नुभएको थियो भने सहजीकरण राप्ती इञ्जिनियरिङ कलेजकी शिक्षिका सिर्जना देवकोटाले गर्नुभएको थियो।







